सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेव घर भई रूपन्देहीको बुटवल बस्दै आइरहेका ४० बर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
दुर्घटनामा घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा ट्रकका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।






