बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् ।
अभियोगपत्रमा महराले सरकारी वकिलको कार्यालयसमक्ष दिएको बयानको लिखित विवरण उल्लेख छ । बयानमा उनले पीडित महिला (रोशनी) लाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् ।
‘२०४७ सालदेखि झण्डै ४ वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु,’ बयानमा उनले भनेका छन्, ‘उनी मेरो विद्यार्थी जस्तै हुन् । उनले अहिले पनि मलाई महरा सर भनी सम्बोधन गर्छिन् ।’ महराले आफू उनको अभिभावक भएको दावी पनि गरेका छन् । बयानमा उनले भनेका छन्, ‘विवाहमा म अभिभावकको भूमिकामा थिएँ ।’
आफ्नै घरमा पहिले बस्ने भएकाले बेलाबखत उनीसँग भेट भइरहने महराको भनाइ छ । ‘२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि करिब ३ वर्ष भेट भएन । त्यसपछि ३ वर्ष अगाडि उनले ‘म अस्वस्थ छु’ भनी ‘आफूलाई संसद सचिवालयमा काजमा ल्याइदिनुपर्यो’ भन्ने सन्दर्भमा आफूसँग भेट गरेको महराले जनाएका छन् ।
उनले आफू रक्सीमा ‘हार्ड ड्रिङ्स’ सेवन नगर्ने जिकिरसमेत गरेका छन् । ‘कहिलेकाही औपचारिक समारोहहरुमा वाइन थोरैमात्रामा लिने गरेको छु,’ महराले बयानमा भनेका छन्, ‘करिब १२ वर्षदेखि यता बजारमा मैले रक्सी किनेको पनि छैन, बोकेर हिँड्ने प्रसंग नै भएन । त्यसैले रक्सी बोकेर आएको भन्ने कुरा विल्कुलै निराधार हो ।’






