सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालयको बैठक बोलाएको छ । मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि उमेदवार तय गर्न सचिवालय बैठक बोलाइएको नेकपाले जानकारी दिएको छ ।
मङ्सिर १४ गते एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षसहित ५३ स्थानमा उपनिर्वाचन हुँदैछ ।शनिबार बस्ने बैठकले सबै उमेदवारको टुङ्गो लगाउने सचिवालयका नेताले जनाएका छन् ।
सचिवालय निकट स्रोतले जानकारी दिएअनुसार मङ्सिर १४ को उपनिर्वाचनमा नेकपा जित्नैपर्ने दबाबमा छ ।
पार्टीको मात्रै नभई सरकारको लोकप्रियता मापनसँग पनि जोडिएकाले नेकपाले तलका कमिटीबाट जित्ने उमेदवार सिफारिस गर्न जोड दिएको थियो ।
पार्टी स्रोतका अनुसार नेकपाको पूर्व माओवादी पक्षले महत्वपूर्ण पदमा उम्मेदवार पाउने सम्भावना कम छ ।
एक नेताले भने, ‘कास्की–२ मा राजकाजी गुरुङको चर्चा छ तर उनले पाउने सम्भावना पनि न्यून छ ।’ पूर्व माओवादी पक्षले स्थानीय तहका वडामा भने धेरै उम्मेदवार पाउने सम्भावना रहेको उनले बताए ।






