ताजा समाचार

कार्तिक १५ गते २०७६

डेढ घण्टा कहाँ हराए महरा ?

बलात्कार प्रयासमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा गत असोज १२ गते साँझ करिब डेढ घण्टा कहाँ थिए भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले आफू त्यसदिन पीडित महिलाको कोठामा नगएको दावी गरेका छन् ।

तर त्यसदिन सभामुखको सरकारी निवासबाट उनीसँगै सुविधानगर, तीनकुनेसम्म आएका सुरक्षाकर्मीले भने आफूहरुलाई उक्त क्षेत्रको भित्री गल्लीमा लगेर महरा एउटा घरमा प्रवेश गरेको र करिब डेढ घण्टापछि फर्किएको बयान दिएका छन् ।

महराको सुरक्षार्थ त्यसदिन खटिएका नेपाली सेनाका जमदार काजीराम राना मगरले महरा तीनकुने क्षेत्रको एउटा घरमा डेढ घण्टा बसेको जनाएका छन् ।

महराको सुरक्षार्थ प्रायःजसो क्याप्टेन आयुषमान आचार्य जाने गरेकोमा मंसिर ४ देखि १४ गतेसम्म उनी बिदामा रहेकाले त्यसदिन महराको सुरक्षार्थ आफू खटिएको जमदार काजीरामले बयानमा उल्लेख गरेका छन् ।

असोज १२ गते अन्दाजी बिहान १० बजेतिर महरासहित संसद भवन नयाँ बानेश्वरमा आएर त्यहाँको काम सकेर सिंहदरवार र त्यसपछि दिउँसो ४ बजेतिर सभामुख निवासमा फिर्ता आएको उनको भनाइ छ ।

महराले पनि बयानमा त्यसदिन ३/४ बजेको समयमा आफू सिंहदरवारस्थित कार्यालय गएको र पीडित भनिएकी महिलासँग भेट भएको स्वीकार गरेका छन् । महरा र उनका अंगरक्षक काजीमानले दिएको बयानमा सभामुखको सरकारी निवासमा फर्किएको समय र विवरण पनि मिल्दोजुल्दो छ ।

महरा र उनका अंगरक्षक काजीरामले सभामुख निवासबाट साँझ निस्किएको र तीनकुने क्षेत्रमा आएको विवरण पनि बयानमा मिल्दोजुल्दो नै दिएका छन् ।