कांग्रेसको निर्णय : उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।

उमेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरिएको जानकारी दिए ।

उमेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने पनि कांग्रेसले निर्णय गरेको छ । 

प्रवक्ता शर्माकाअनुसार बैठकमा महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम कार्यसम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, एनपी साउद र महेन्द्र यादवले धारणा राखेका थिए । 

केन्द्रीय सदस्यहरुको धारणा सुनिसकेपछि सभापति देउवाले केन्द्रीय समिति बैठकमा पदाधिकारीका अलावा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई उमेदवार चयन गर्ने पदाधिकारी बैठकमा आमन्त्रण गरेर छलफल गर्ने जानकारी गराएको शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईलाई उमेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारसम्म उमेदवारको चयन गरिसक्ने तयारी गरेको छ ।