ताजा समाचार

कार्तिक १५ गते २०७६

‘पोखराको बाराही माविलाई नमुना बनाउनुपर्छ’

पोखराको मालेपाटनस्थित बाराही माविलाई मुलुककै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिइएको छ ।

बाराही पुरानो विद्यालय भएर पनि फड्को मार्न नसक्नु दुःखद् भएको भन्दै सरोकारवालाले यसको विकास र विस्तारमा सबै लाग्नुपर्ने खाँचो समेत औंल्याए ।

विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग छलफल गरेको थियो ।

Image may contain: 5 people

शुक्रबार भएको छलफलमा विभिन्न विषयका शिक्षाविद्, शिक्षासेवी, विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सल्लाहकार, समाजसेवी, जनप्रतिनिधि सहभागी थिए ।

छलफलमा प्रमुख वक्ताका रुपमा प्रा.डा. भरतराज पहारी सहभागी थिए । उनी बाराही रत्न समेत हुन् । उनले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका विभिन्न पक्षमा अवधारणा राखे ।

उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, विद्यालय र वातावरण र स्रोत महत्वपूर्ण हुने अवधारणा पेश गरेपछि यिनै विषयवस्तु माथि कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीलाई ५ वटा ग्रुपमा विभाजन गरि पहारीको अवधारणमाथि छलफल गरिको थियो । छलफलमा ५ वटै ग्रुपले बाराही माविलाई सबै तवरले उत्कृष्ट विद्यालय बनाउनुपर्ने सुझाव दिए ।

Image may contain: 7 people, including Laxman Koirala and Madhav Biyogi

५ टोलीको संयोजकहरूमा उमानाथ बराल, धनबहादुर नेपाली, टंकराज अधिकारी, पुरुषोत्तम पराजुली र उज्वल खत्री संयोजक थिए ।

साथै छलफलमा सहभागीले गुणस्तरीय शिक्षाका लागि स्कूल सबैको, वातावरण स्वच्छ र हरियाली हुनुपर्ने, शिक्षकलाई समयानुकुल आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने, भौतिक पूर्वाधार सम्पन्न हुनुपर्ने, आवश्यक शैक्षिक एवं प्रयोगात्मक सामग्रीहरू एथेष्ट व्यवस्था गर्नुपर्ने, विद्यालय बालमैत्री र अपांगमैत्री हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।

Image may contain: 6 people

यसैगरी सबै विषयको विषयगत विभागको व्यवस्था शैक्षिक क्यालेण्डर बनाएर कार्यान्वयन, समय–समयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया गर्नुपर्ने, विद्यालयको वातावरण हरियाली, सफा र सुरक्षित हुनुपर्नेमा समेत सहभागीले जोड दिएका छन् ।

यस्तै शिक्षक विद्यालय र विद्यार्थीप्रति पूर्ण उत्तरदायी हुनुपर्ने, पाठ योजनासहित अध्ययापन गराउनुपर्ने, शैक्षिक सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने, शिक्षकले समयानुकुल तालिम र प्रशिक्षण लिनुपर्ने, विद्यालय र शिक्षकमा राजनीतिक रंग र गन्ध आउन नहुनेमा समेत जोड दिएका छन् ।

यसैगरी विद्यालयमा सबै समुदायका विद्यार्थीलाई पनि समेट्नुपर्ने, कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलार्ई खाजाको व्यवस्था गर्नुपर्ने, समयसापेक्ष प्राविधिक विषयगत शिक्षणको व्यवस्था गर्नुपर्ने, होस्टल र यातायातको सुविधा हुनुपर्ने, नैतिक शिक्षा अध्ययन–अध्यापनमा जोड दिनुपर्ने लगायतका सुझाव सहभागीले पेश गरे ।

Image may contain: 24 people, including Ujwal Khatri, Laxman Koirala and Basanta Bhandari, people smiling

उक्त अवसरमा प्रा.डा. भरतराज पहारीले अरुको मनोगत होइन तथ्यगत कुरामा ध्यान दिन आग्रह गर्दै मनोगत टिप्पणीले निष्कर्ष निकाल्न नसक्ने स्पष्ट पारे ।

जे काम गर्नु छ त्यसको वस्तुगत अवस्थामा ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयको वस्तुस्थिति, स्रोत र क्षमता अनुसार विद्यालयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

आदर्श स्कूल स्थापनाका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बीच सहकार्य र एकता हुन आवश्यक रहेको भन्दै उनले जे काम गर्दा पनि सकारात्मक सोंच लिएरमात्र अघि बढ्नुपर्ने खाँचो औंल्याए ।

‘विद्यालययले गुणस्तरीय शिक्षाका लागि दीर्घकालिन सोंच, कार्ययोजना र कार्यविधि बनाएर मात्र अघि बढ्नुपर्छ’, पहारीले भने, कल्पनामा भन्दा वस्तुगत आधारमा योजना बनाउनुपर्छ ।’

उनले परिवर्तनलाई आत्मसाथ गर्ने गरी विद्यालय सञ्चालन हुनपर्ने खाँचो समेत औंल्याए ।
स्कूल विचार विमर्श गर्ने थलो भएको भन्दै पहारीले विचारलाई संकुचन हिसावले सोच्न नहुने स्पष्ट पारे ।

‘विचार सीमाभित्र राख्नुपर्छ, अनुशासित हुनुपर्छ तर बन्देज लगाउनु हुँदैन । गैरजिम्मेवार चिन्तन पनि विद्यालयमा आउन हुँदैन’, उनले भने । मुलुकको संस्कार र संस्कृति अनुरुप नै विद्यालयलाई अघि बढाउनुपर्ने खाँचो पहारीले औंल्याए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालले छलफलमा उठेका विषयवस्तु र सुझाव विद्यालयको सम्पत्ति भएको भन्दै यसलाई गुरुयोजनामा समावेश गरिने प्रतिवद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले शैक्षिक गुणस्तर सुधार, भौतिक सुधार र प्रशासनिक सुधारमा विभिन्न पक्षलगायत विद्यालयको समग्र अवस्था समेटेर आधारपत्र प्रस्तुत गरेका थिए । बरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहप्राध्यापक डा. गिरधारी दाहालले गरेका थिए ।

वि.सं. २०१४ सालमा बाराही पव्लिक मिडिल स्कूलबाट शुरु भएको विद्यालय २०१८ मा बाराही पव्लिक हाइस्कूलको नाममा अस्थायी र २०२२ मा मावि तहको स्थायी स्वीकृति प्राप्त गरेको थियो ।

२०५४ सालदेखि नै शिक्षा संकायबाट कक्षा ११ प्रारम्भ गरेको विद्यालयमा हाल विज्ञान र व्यवस्थापन, मानविकी संकाय सञ्चालन भइरहेको छ । विद्यालयमा दुवै सत्र गरी ४० जना शिक्षक र ८ सय ५३ जना विद्यार्थी छन् ।

विद्यालयमा तत्काल गर्नुपर्ने कामहरू
-शुद्ध पिउने पानीको व्यवस्था
-भरपर्दो इन्टरनेटको व्यवस्था
-तहगत र कक्षागत फर्निचरको व्यवस्था
-कक्षाकोठामा शिक्षक डेक्सको व्यवस्था
– विद्यालय भवनको कोठाहरू मर्मत
-प्रतिक्षालय निर्माण
-कम्प्युटर तालिम
-पुनतार्जकी तालिम
– छ्ट्टै लेखा शाखा स्थापना

विद्यालयमा दीर्घकालिनरुपमा गर्नुपर्ने कामहरू
-चमेना गृह सञ्चालन
-प्राथमिक उपचार कक्ष स्थापना
-सबै कक्षामा शिक्षा डेक्स र बुक कर्नर स्थापना
-उपयुक्त प्रशासनिक कक्षा स्थापना
-विज्ञान, खेलकूद कक्ष स्थापना
-ऐतिहासिक पानीपोखरी मर्मत सम्भार
-विद्यालय परिसरमा मञ्च स्थापना
-सबै शिक्षकलाई ल्यापटप
-जगेडा कोष स्थापना
-उचित खेलमैदान व्यवस्थापन
-आधुनिक सुविधायुक्त भवन