कांग्रेसको बैठक आज, कास्की-२ मा कसलाई बनाउला उम्मेदवार ?

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ।

कास्की–२ को उपनिर्वाचनको सरगर्मी र चासो सर्वत्र छ । नेपाली कांस्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने चासो पनि उत्तिकै छ । कास्की–२ का लागि कांग्रेसले देवराज चालिसेसहित १६ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ। यसपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ।

सैँतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ।