पोखरा उद्योग वाणिज्य संघले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ ।
गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो ।
भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र संघीय सरकारद्वारा घोषित भ्रमण वर्षको प्रचार गर्न संघले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं संघका अध्यक्ष दामु अधिकारीले बताए ।
पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रचारलाई संघले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले सरकारले घोषणा गरेका प्रवर्द्धनात्मक कार्यक्रमलाई सघाउन आफूहरू तयार रहेको बताए ।
गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’ को अवधारणाका साथै अन्य प्रवद्र्धनात्मक कार्यक्रम लगायतमा आफूहरू हातेमालो गर्न तयार रहेको बताए ।
उनले भने, ‘देश र विदेशमा आफूहरूको ठूलो संयन्त्र भएकोले सहकार्य गर्दै अघि बढाउने दायित्व सरकारको हो ।’
भ्रमण दलमा संघका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्य तथा कर्मचारी सहभागी छन् । ४ दिने पदयात्राका क्रममा टोली ४ हजार ६ सय सय मिटर उचाईको मर्दी हिमाल आधार शिविर पुग्ने संघका कार्यसमिति सदस्य कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।






