साँखुफेदीमा बस दुर्घटना, बसभित्र च्यापिएकाहरु निकाल्न सकिएन

काठमाडौंको साँखुफेदीको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना महिला र एकजना पुरुष रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन । प्रत्यक्षदर्शी शालिगराम दुलालका अनुसार बसले च्यापिएका दुई महिलाको शव अझै निकाल्न नसकिएको र स्काभेटरको खोजी भइरहेको छ ।

दुर्घटनामा २० जना घाइते भएको र उनीहरूको शुष्मा कोइराला मेमोरियल, लाइफ केयर र जोरपाटीको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने गोल्फुभञ्ज्याङ्गबाट बिहान १० बजे गुडेको बसमा ७० जनाभन्दा बढी सवार थिए ।

आमा ह्यल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस ओभरलोडकै कारण दुर्घटनामा परेको हुनसक्ने आकलन प्रहरीले गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बसको जहरसिंह पौवादेखि नै ब्रेक लागेको थिएन । झण्डै दुईकिलोमिटर ओह्रालो बाटो छिचोलेपछि घट्टेखोला (शालीनदी) पुल नजिकैको मोड काट्न नसकी सडकछेउमा पल्टिएको थियो ।