पाकिस्तानको लियाक्त्पुर सहरमा बिहीबार बिहान एक रेलमा आगलागी हुँदा ६२ भन्दा बढी यात्रुको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार कराचीबाट रावलपिण्डी गइरहेको तेज गाम एक्सप्रेसको रेल लियाक्त्पुरमा पुग्दा तीन वटा डिब्बामा आगो लागेको थियो। आगलागीमा मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्। कैंयन् मृतकको पहिचान हुन सकेको छैन।
आगो लागेका रेलका तीनवटै डिब्बा इकोनोमी क्लासका हुन्। पाकिस्तानी रेलवे मन्त्री शेख रसिदका अनुसार यात्रुहरूले बिहानको खाजा बनाउने क्रममा ग्यासको सिलिन्डर पड्केर आगलागी भएको थियो। धेरै यात्रुले ट्रेनबाट हाम फलेर ज्यान जोगाएका थिए।
घाइतेलाई लियाक्त्पुरस्थित डिएचक्यु अस्पतालमा लगिएको छ। केही गम्भीर घाइतेहरूलाई भवलपुर भिक्टोरिया अस्पतालमा लगिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।






