महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइँदै

 प्रहरी हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध मुद्दा चलाउने निर्णयमा पुगेको सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले जानकारी दिए । केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए । 

महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को  जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरि अभियोगपत्र तयार गरिएको छ ।

जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिने जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।  

त्यसमा थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुने गरि अभियोगपत्र तयार भएको छ । 

दफा १५ ङ मा ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय’, को व्यवस्था छ । आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोग महरामाथि रहेकाले यो व्यवस्था पनि उल्लेख गरेर अभियोगपत्र दर्ता हुँदैछ ।