यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेर थुनामा रहेका निवर्तमान सभामुख तथा सांसद कृष्ण बहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर हुने भएको छ । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आजै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने तयारी भइरहेको छ ।
फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेरकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।
महराविरूद्ध करणी उद्योगमा मुद्दा दर्ता गर्न लागेकाले सो सजायको आधा अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।
त्यसमा फौजदारी संहिताकै सजाय निर्धारण एेनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ठहर भएको कैद सजायमा थप डेढी अर्थात् अधिकतम ठहर गरे अर्को साढे २ वर्ष सजाय थप हुने गरी अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।






