कृष्णनगर तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यू

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगर तनावगस्त बनेको छ । दुई समूहबीचको झडपपछि अहिले कृष्णनगरमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ ।

मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुसलमान समुदायबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू जारी गरेको हो ।

बिहीबार ११ बजेदेखि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस स्थानमा बढ्दो तनावलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको श्रेष्ठले बताएका छन् । ‘झडप नियन्त्रणमा आएपछि कर्फ्यू फुकाउने र कर्फ्यूको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ ।