आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचन बागलुङमा २ ‘ख’ मा सरगर्मी बढेको छ । उपनिर्वाचनका लागि साना ठूला पार्टीहरू चुनावी दाउमा लागेका छन् ।
अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गएको मंसिर २७ मा निधन भएपछि यो क्षेत्र रिक्त छ । घर्तीको जन्डिसका कारण निधन भएको थियो ।
२०७४ को निर्वाचनमा तत्कालीन एमाले, माओवादी र राजमोको गठबन्धन बनेको उक्त बागलुङमा यो चुनावमा पनि गठबन्धन हुने पक्कापक्की जस्तै छ । यद्यपि निर्णय नै भने भइसकेको छैन । त्यसबेला तत्कालीन माओवादीले प्रदेश सभाको १ सिट, एमालेले १ सिट र राजमोले प्रदेश सभाका २ सिट पाएको थियो ।
केन्द्रले ३ जनाको नाम सिफारिस गर्न पठाए पनि नेकपा बागलुङले ६ जनाको नाम सिफारिस गरेको छ ।
यता, राजमो बागलुङका अध्यक्ष अमर थापा भने २०७४ को सहमति अनुसार नै अघि बढ्न आफूहरू तयार रहेको बताउँछन् ।
‘अघिल्लो चुनावमा बागलुङ र प्युठानमा ३ पार्टी तत्कालीन एमाले र माओवादीसंग मिलेर ३ वटा संघ र २, २ वटा प्रदेश सभाका लागि सहमति जुटाएका थियोैं,’ उनले भने, ‘यो चुनाव पनि अघिल्लो चुनावकै निरन्तरता हो, त्यसैले यो चुनावमा पनि अघिल्लो चुनावकै सहमति लागु हुनुपर्छ ।’
चुनावका लागि राजमोले आन्तरिक तयारी टुंग्यासकेको उनले सुनाए । उम्मेदवारको लागि राजमोले ३ जनाको नाम सिफारिस गरिसकेको छ ।
यता, प्रमुख प्रतिपक्ष कांग्रेसले बागलुङमा भने ४ जनाको मात्रै नाम सिफारिस गरेको छ । कांग्रेसका बागलुङ सभापति अध्यक्ष दीपेन्द्रबहादुर थापाका अनुसार ४ जना आंकाक्षी देखिएकाले चारै जनाको नाम सिफारिस गरिएको हो ।
तत्कालीन राजमोका उमेदवार घर्तीले बागलुङ २ ‘ख’ मा ११ हजार ८८४ मत ल्याएर कांग्रेसका उमेदवार जीत शेरचनलाई पराजित गरेका थिए ।
शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका थिए । राजमोले तत्कालीन माओवादी र एमालेसँग चुनावी तालमेल गरे पनि काँग्रेसले तालमेल गरेको थिएन ।
उक्त क्षेत्रमा ३८ हजार ७०१ मतदाता रहेका छन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ४२ मतदानस्थल छन् ।






