गुडिरहेको रेलमा आगलागी, ४६ को मृत्यु

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।

पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

रेलमा आगलागी भएको र ठूलो संख्यामा यात्रुको मृत्यु भएकोप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन्। उनले उद्दार र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। रेलमन्त्री शेख रशीदले उक्त घटनाको छानबिन हुने बताएका छन्।