गुल्मी जीप दुर्घटना : घाइते श्रीमती र छोरीलाई घटनास्थलमै छोडेर भागेका चालक पक्राउ

बुधबार राति गुल्मीका भएको जीप दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा २ जनाको मृत्य भएको थियो । साथै ३ जना घाइते भएका थिए । घाइतेको बाग्लुङमा उपचार भइरहेको छ ।

समाचार स्रोत अनुसार दुर्घटनामा घाइते भएकामध्ये २ जना चालक ज्ञानबहादुर विकको आफ्नै श्रीमती र छोरी भएको बुझिएको छ ।

मृत्य भएका २ मध्ये १ जना श्रीमतीकी आमा अर्थात चालक विककी सासुआमा भएको बताइन्छ । अर्का १ जना अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल हुन् ।

मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप टुक्रा टुक्रा भएर कामै नलाग्ने अवस्थामा छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।