उम्मेदवार छनोट गर्न कांग्रेस पदाधिकारी बैठक

मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेरमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलालाई पनि बोलाइएको छ।

पदाधिकारी बैठकले प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी टुंगो लगाउने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पदाधिकारी बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायतका विषयमा समेत छलफल हुनेछ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस नभइसकेको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो।

मंसिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदै छ।