आर्सनललाई पराजित गर्दै इंगलिश प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वार्टरफाइनलमा पुगेको हो ।
एनफिल्डको घरेलु मैदानमा भएको खेल निकै रोमाञ्चक भएको थियो । निर्धारित समयसम्म ५–५ गोलको बराबरी भयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो ।
पेनाल्टीमा लिभरपुलले ५–४ ले खेल जित्यो । पेनाल्टीमा आर्सनलका डानियल सेबालोस गोल गर्न असफल भएका थिए ।
अर्को खेलमा विजयी हुँदै म्यान्चेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा पुगेको छ । युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले हरायो । युनाइटेडलाई जित दिलाउने क्रममा दुवै गोल मार्कस रासफर्डले गरेका हुन् ।

चेल्सीले घरेलु मैदानमा मिची बास्तुयीको गोल मार्फत बराबरी गरे पनि त्यसपछि फेरि रासफोर्डको गोलका कारण हार्न पुग्यो ।
एस्टन भिल्ला पनि क्वार्टरफाइनलमा पुगेको छ । भिल्लाले घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डेरर्सलाई २–१ गोल अन्तरले हरायो ।




