भारतमा ३ नेपालीको हत्या गर्ने पक्राउ, अपराध स्वीकार

यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो ।

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । 

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले बताए ।

उनका अनुसार कात्तिक ८ गते चारै जनाले रक्सी खाएर ढुङ्गाले टाउकोमा हिर्काएको र त्यसपछि धनबहादुर आफैंले हँसियाले उनीहरुको लिङ्ग काटेको प्रहरीलाई बयान दिएका छन् ।