सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।
‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

प्रधानमन्त्री आफैले समृद्धिको नेतृत्व गरेकाले उक्त सडक निर्माण कार्य युद्धस्तरमा हुनेमा आफू विश्वस्त रहेको पनि प्रचण्डले कार्यक्रममा बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा ठाडो आदेश दिएर एक अर्ब रुपैयाँ विनीयोजन गर्न लगाएको बताए ।
प्रचण्डले भने, ‘यो सडक निर्माणमा ढिलाढाला भयो भने अविलम्ब टेन्डरहोस् भनेर मेरै नेतृत्वमा अनसन बस्नु नपरोस् ।’






