बलात्कार अभियोगमा नेकपा र कांग्रेसका २ नेता पक्राउ

प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान दिएका छन् ।

प्रहरीका अनुसार दुवै जनाले मिलेर १९ वर्षीय एक युवतीलाई २९ असोजमा सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार सामाजिक सञ्जाल फेसवुकमार्फ गजुरेल र पीडित युवतीवीच चिनजान भएको हो । सो चिनजानका आधारमा गजुरेलले पीडित युवतीलाई वोलाएर साथीको कोठामा लगेर दुवैजना मिलेर बलात्कार गरेका हुन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।