रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच सामान्य पिङको विषय लिएर दुई पक्षबीच झगडा हुदा खुकुरी हानाहान भएको छ ।
घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






