पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।

६९ वर्षीय शरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो ।

मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा ८ हप्ताको सजाय निलम्बन गर्ने निर्णय गरेको थियो ।

सोह दिन सरिफका डाक्टर डा. अदनान खानले ट्वीटरमा लेख्दै तीन पटक प्रधानमन्त्री बनिसकेका सरिफ ‘स्वास्थ्य तथा जीवनका लागि लडिरहेको’ जानकारी दिएका थिए ।

‘रगतमा प्लेटलेटको कमी भएको कारण उनको उपचार भइरहेको छ । के कारणले यो अवस्था आयो भन्ने अझै यकिन हुन सकेको छैन,’ खानले अलजजिरासँग कुरा गर्दै भनेका छन् ।

ट्युमरको कारण यस्तो भएको हुनसक्ने डा खानले आंशका व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीको उपचारका लागि खानसहित ६ सरकारी डाक्टरहरु खटिएका छन् ।

ब्लड प्लेटलेट यस्तो कोष हो जसले घाउ चोट लागेको अवस्था रगतलाई जम्न मद्दत गर्छ । यस्तो मात्रा कम हुँदा आन्तरिक वा वाह्य रक्तश्रावको खतरा बढ्छ ।

पाकिस्तानको प्रमुख प्रतिपक्षी दल पीएमएल–एनका प्रमुखसमेत रहेका शरिफको किड्नीमा पनि समस्या देखिएको छ भने रगतमा सुगरको मात्रा पनि कम रहेको डाक्टहरुले बताएका छन् ।