बार्सिलोना ला लिगको शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल भालाडोलीडलाई ५–१ गोल अन्तरले पारजित गरेको हो । 

क्याप नाउमा भएको खेमला बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए  । त्यस्तै लेङलेट, अथुरो भिडाल र लुईस स्वारेजले एक एक गोल गरे । उता भालाडोलीडका लागि किकोले एक गोल गरे । 

खेलको दोस्रो मिनेटमा लेङलेटले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । उता भालाडोलीडका लागि किकोले खेलको १५ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि बार्सिलोनाले लगातार अग्रता लियो । खेलको २९ औँ मिनेटमा बार्सिलोनालका लागि भिडालले गोल गर्दै २–१ गोलको अग्रता दिलाए ।

खेलको ३४ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा पुगाए । पहिलो हाफमा ३–१ गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो ।

बार्सिलोनाका लागि खेलको ७५ औँ मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–१ मा ल्याए । ७७ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको फराकिलो जित दिलाए ।

जितसँगै शीर्ष स्थानको बार्सिलोना १० खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित भालाडोलीड ११ खेलबाट १४ अंक सहित तालिकाको नवौं स्थानमा छ ।