भाइटीका : ‘दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किएर लगाउनू’

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व भोलि मंगलबार धूमधामसंग मनाइँदै छ ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा छैन । तर साइत खोज्नेका लागि बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी ५ वटा उल्लेख गरिएको पाइन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवं सामाजिक परम्परा छ ।

यस वर्ष टीका लगाउने दाजुभाइ पूर्व र लगाइदिने दिदीबहिनी पश्चिम फर्कनुपर्ने हुन्छ । भाइटीकाको दिन चन्द्रमा तुला राशिमा पूर्व दिशामा रहेकाले दाजुभाइ पूर्व फर्कंदा सम्मुख हुन्छ ।