भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको प्रतीकात्मक अर्थ हो, आफ्ना दिदीबहिनी र दाजुभाइ दुबै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।
यस्ता छन् विधि
१) निमन्त्रणा : दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ ।
२) भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ ।
३) टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी ८ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ ।
४) भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ ।
५) सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।
६) त्यसपछि दाजुभाइको मांगल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।
७) त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
८) अनि क्रमशः फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन छ ।
९) त्यसपछि दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
१०) टीका लगाइसकेपछि फूलको माला पहिर्याई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।
११) अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ ।
१२) दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् ।
१३) दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।






