‘तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार कस्ले दियो ?’

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको बताएका छन् ।

तरुण दलको ६६ औँ स्थापना दिवसका अवसरमा सामाखुसीमा आयोजित कार्यक्रममा नेता कोइरालले तरुण दलमा विवाद स्वभाविक भएको भन्दै अध्यक्षलाई महसचिव हटाउने अधिकार नभएको बताएका हुन् । 

उनले भने, ‘तरुण दलभित्रको विवादलाई स्वभाविक रुपमा लिएको छु । किनेभने पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन । तर तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार छैन ।’

तरुण दलको स्थापना दिवस एउटै ठाउँमा बनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेतासँग पनि गरेको उनको भनाइ थियो । 

‘उहाँहरुलाई एउटै कार्यक्रम गर्ने वातावरण बनाए पार्टी कार्यालयमा कार्यक्रम राख्नु भनेका थियौँ । म एक जनालाई दोष दिने पक्षमा छैन । उहाँहरु दुबै जना आ–आफ्नो गुटमा रमाइ राख्नुभएको छ,’ उनले भने ।

तरुण दलका ४ जना पदाधिकारीलाई राखेर एउटै कार्यक्रम राख्नु भनेर भनेको भए समस्या समाधान नै नहुने कोइरालाको भनाइ थियो । यस विषयमा पार्टीका सबै पदाधिकारी दोषी रहेको उनको दाबी थियो ।