कास्की-२ : ‘नेकपाले राम्रो सन्देश दियो, कांग्रेस भिरबाट लडेको मान्छे’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले कास्की–२ को उपनिर्वाचनका लागि एकल उम्मेदवार प्रस्तुत गरेर पार्टीले राम्रो सन्देश दिएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘१६ जना उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेस पार्टीका लागि यो चुनौती हो ।’

कास्की–२ को सन्देश देशैभर पुर्याउन आवश्यक रहेको भन्दै उनीहरूले यसले उम्मेदवारलाई जिताउन पनि सहज हुने दावी गरेका छन् ।

साथै उनीहरूले यस्तो अवस्थामा पनि पार्टीका नेता कार्यकर्ता दायावाया नगरि एकतावद्ध भएर आफ्ना उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताएका थिए ।

नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीको सहयोग, नेकपा पोखरा–४ वडा कमिटी र नेपाल राष्ट्रिय वाणिज्य संघ वडा कमिटीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका वक्ता नेताहरूले यस्तो बताएका हुन् ।

नेताहरूले पोखरा–४ कास्की क्षेत्र नं. २ अन्तर्गतको एउटा वडा पनि हो । त्यसैले यस वडामा यसअघि व्यहोरेको क्षति पूर्ति हुनेगरी खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

साथै कार्यक्रममा सहभागी अन्य नेता कार्यकर्ताले पनि पार्टीको पछिल्लो निर्णयले उत्साह थपिदिएको र यसले राम्रो परिणाम निकाल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आशन्न उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । उनले पार्टीले यो चुनावका लागि राम्रो सन्देश दिएको छ, यसलाई सबैले शिरोधार्य गरेर उम्मेदवारलाई विगतको भन्दा डब्बल मतान्तरले जिताउन आवश्यक रहेको बताए ।

मन्त्री बस्नेतले यो चुनावमा पार्टीले गरेका राम्रा कामहरू प्रचारप्रसार गर्न आवश्यक रहेको समेत बताए । जनताको अधिकतम् सेवा गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले सरकारका गतिविधि जनतामा सञ्चार गर्ने काम कार्यकर्ताकै भएकाले जनतालाई बुझाउने गरि खटिन निर्देशन दिए ।

उनले पोखरा–४ कमिटीलाई २ वटा राम्रा योजना लिएर मन्त्रालयमा आउन आग्रह गर्दै वडासंग समन्वय गरेर आफूले योजना पारिदिने प्रतिवद्धता जनाए ।

नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेलले कांग्रेस भिरबाट लडेको मान्छे जस्तो भएको टिप्पणी गरे । कांग्रेसको पछि नलागि, पार्टी र सरकारको राम्रा काम जनतामा सञ्चार गर्न आवश्यक रहेको नेता पौडेलले बताए ।

कार्यक्रममा वडा कमिटी अध्यक्ष शंकर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटी सदस्य शंकरनाथ कोइराला र नेपाल राष्ट्रिय वाणिज्य संघ वडा कमिटीका अध्यक्ष लेखनाथ सुवेदीले बोलेका थिए ।