कति पर्छ भाइमसलाको मूल्य ?

तिहार कात्तिक ९ बाट शुरु हुँदैछ । बजारमा तिहारका लागि सामान किन्नेहरूको भीड उत्तिकै बढेको छ ।

विशेषगरी भाइटीकामा प्रयोग हुने मसलाको माग यतिबेला बढी हुन्छ । माग बढेकै कारण व्यवसायीहरूले महँगो मूल्यमा तिहारको मसला बेचिरहेका छन् । पसल नै पिच्छे आआफ्नै खालका मूल्य निर्धारण भएको पाइन्छ ।

एउटै मसलामा गत वर्षको तुलनामा प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्मले बढेको छ । यद्यपि, १/२ आइटम बाहेक अन्य मसलामा खासै मूल्य नबढेको व्यापारीहरू बताउँछन् ।

भाइमसलाको लागि तस्बिर परिणाम

गत वर्ष ३ हजार रुपैयाँ प्रतिकेजीमा पाइने सुकुमेल अहिले बढेर ५ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । यता मखना पनि केजीमा २ सय रुपैयाँसम्मले बढेको छ । गत वर्ष एक हजार ५० रुपैयाँ प्रतिकेजीमा पाइने मखना १ हजार २ सय ५० रुपैयाँसम्म पुगेको छ ।

ल्वाङमा पनि मूल्य बढेको छ । यो आइटम केजीमा २ सय रुपैयाँसम्मले बढेर १ हजार ८ सय रुपैयाँसम्म पुगेको छ ।

सुपारी केजीको ६ देखि सात सय रुपैयाँसम्ममा पाइन्छ । अन्जिर २ हजार सम्म, दालचिनी ५ सय २० रुपैयाँसम्म, मिश्री १ सय ८० रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म, अलैँची १५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यता, काजु किसमिसमा भने मूल्य धेरै बढेको छैन । काजु १५ देखि १७ सय रुपैयाँ प्रतिकेजीमा पाइन्छ । किसिमिस ५ सयदेखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्ममा बजारमा उपलब्ध व्यवसयी राजकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार पेस्ता र नरिवलको मूल्य भने घटेको छ । पहिले २ हजार रुपैयाँ प्रतिकेजी पर्ने पेस्ता अहिले १ हजार ७ सय सम्ममा बिक्री भइरहेको छ ।

नरिवलमा पनि मूल्य थोरै घटेको छ । ५ सय रुपैयाँसम्ममा पाइने नरिवल अहिले ४ सय ८० सम्ममा पाइन्छ । बदाम प्रतिकेजी १ हजार ३ सय देखि १ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ । छोकडा २ सय देखि २ सय ५० को आसपासमा छ ।

सुकुमेल र मखनाको मूल्य बढ्नुमा उत्पादन कम अथवा आयात नै कम भएको कारण हुन सक्ने व्यवसायी बताउँछन् ।

डेढ अर्बको मसला आयात
नेपालीहरू धूमधामका साथ तिहार मनाउँछन् । दशैं, तिहार जस्ता चाड नेपालको मौलिक पर्व भनिए पनि यी पर्व मनाउनका लागि आवश्यक सामानमा भने हामी परनिर्भर हुनु परिरहेको छ ।

तिहारमा अत्यधिक माग हुने भाइमसला धेरैजसो भारतबाट आयात हुन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको भाइमसला आयात भएको जनाएको छ ।

गत आर्थिक वर्षमा (१ वर्षमा) ४ अर्बको भाइमसला आयात भएको थियो । तिहारको बेलामा भाइ मसलाको कारोबार उच्च हुन्छ । विवाहको मौसममा पनि मसलाको माग हुने गरेको छ ।