नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सहइन्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न निर्देशन दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ पार्टी कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले २ ठूला कम्युनिष्ट पार्टी एक भईसकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानुपर्ने बताए ।
कार्यकर्ता र सिद्धान्तको आधारमा पार्टी एकता भएको उल्लेख गर्दै उनले एकताको औचित्यलाई अभैm पुष्टि गर्नका लागि पनि चुनाव महत्वपूर्ण बताए ।
विकास प्रेमी नेता रविन्द्र अधिकारी जनता माझ राम्रो भिज्नु भएको चर्चा गर्दै उनले आशन्न निर्वाचनमा उनका अधुरा कामलाई पूरा गर्ने किसिमको जनप्रतिनिधि निर्वाचित हुने बताए ।
पार्टीले अगाडि सारेको उम्मेदवारलाई विजयी बनाउन कार्यकर्ता संगठित र एकतावद्ध भएर लाग्न निर्देशन दिंदै नेता अधिकारीले निर्वाचनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे ।
प्रतिनिधिसभाका सांसद समेत रहेका नेता अधिकारीले सरकारले सानातिना भन्दा पनि ठूला र दीर्घकालीन प्रभाव पार्ने योजना अगाडि सारेको कारण काम देखिन समय लाग्ने उनको भनाइ थियो ।
संगठन निर्माण र परिचालन बिषयमा प्रशिक्षण दिंदै पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज भिम कार्कीले कार्यकर्तालाई उत्पादनमा जोड दिंदै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।
नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पार्टीको वर्तमान कार्यदिशा र कार्यभार बिषयमा प्रशिक्षण दिएको कार्यक्रममा पार्टी १७ का अध्यक्ष सुभास ढुङ्गाना तथा सचिव ईश्वरी लम्सालले आशन्न उपनिर्वाचन लक्षित प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।






