समर्थकले बताए पारसको राजीनामाको कारण

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) असोज २७ गते आईसीसीको निलम्बनबाट फुकुवा भयो ।

त्यसको भोलिपल्ट नै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिए ।

उनको राजीनामाको विषयलाई लिएर सर्वत्र चर्चा चल्यो । १० वर्षे कप्तानीको जिम्मेवारी सफलताका साथ निभाएका पारसलाई धेरै समर्थक र क्रिकेट विज्ञहरुले अझै केही समयसम्म राष्ट्रिय टोलीको जिम्मेवारीमा रहन आग्रह गरे ।

बिहीबार पूर्व कप्तान पारस खड्काको ३२ औँ जन्मदिन परेको थियो । पारसलाई नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्कन आग्रह गर्दै धरै क्रिकेट प्रेमीले जन्मदिनको शुभकामना दिए ।

यति मात्र होइन, पारसलाई आईसीसीले पनि जन्मदिनको शुभकामना दियो । आईसीसीले आफ्नो अफिसियल फेसबुक तथा ट्विटर अकाउन्टबाट शुभकामना दिएको थियो । आईसीसीले बिहीबार दिउँसो २ः४५ बजे उनलाई शुभकामना दिएको थियो ।

‘नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन, नेपालको पहिलो र १ मात्र अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शतक । नेपालको पहिलो र १ मात्र एकदिवसीय क्रिकेटमा शतक’ भन्दै आईसीसीले जन्मदिनको शुभकामना दिएको थियो ।

तर, नेपाली क्रिकेटको सर्वाेच निकाय क्यानले भने पारसको जन्मदिनको शुभकामना साँझ ७ः०० बजे दियो । शुभकामनामा लेखिएको थियो, ‘देशको सबैभन्दा प्रसिद्ध क्रिकेटरलाई जन्मदिनको बधाई । एक साँचो नेता जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याए ।’

यति मात्र लेखिएको पोष्टमा समर्थकहरुले कमेन्ट गर्दै सर्वत्र आलोचना गरे । सर्वत्र आलोचनाको केही समयपछि पोष्टमा ‘वन्स अगेन ह्याप्पी बथ्रडे’ भनेर थपियो ।

त्यसै पोष्टलाई आफ्नो वालमा सेयर गर्दै क्रिकेट समर्थक क्षितिज दुलालले क्यानले गर्दा नै पारसले राजीनामा दिनुपरेको लेखेका थिए । उनको पोष्टमा थियो, ‘क्यानको निलम्बन फुकुवा हुनासाथ पारसले राजीनामा दिनुको केही अर्थ थियो जस्तो लाग्थ्यो, आज यो पोष्टले पक्कै केही छ भनिरहेको जस्तो लागिरहेको छ ।’

अर्का समर्थक मदन रत्न न्यौपानेले पनि क्यानप्रति आक्रोश पोख्दै लेखेका छन्, ‘आईसीसीले विस गरिसकेपछि क्यानले विस गर्न बाध्य भयो । हामी पारसलाई माया गर्छाैं, क्यान पहिचान उनकै कारणले छ ।’

यस प्रकारको आलोचनामात्र होइन, क्यानको अफिसियल पेजमा लेखेको विसको पनि धरै समर्थकले खिल्ली उडाउनसम्म भ्याए ।

एक समर्थक विपिन अधिकारीले लेखेका थिए, ‘किन यति चाँडो पोष्ट गरेको ? भोलि बिहान गरेको भए हुने । विस गरेपछि सेलिब्रेसनमा जान पाइन्छ भनेर होला ।’

यतिमात्र होइन, धेरै कमेन्टमा ‘ढिलो आयो कडा आयो’ भन्ने शब्दलाई सबैले प्रयोग गरेका छन् । यता ‘पारस खड्का समर्थक समूह’ मा पनि क्यानको आलोचना भएको छ ।

सुमन खातीले लेखेका छन् क्यानको अध्यक्ष चतुरबहादर चन्दविरुद्ध, ‘यदि तपाई नेपाली क्रिकेटलाई माया र समर्थन गर्नुहुन्छ भने पारस खड्काले क्यानको निलम्बन फुकुवाको भोलिपल्ट राजीनामा किन दिए भन्ने रहस्य खुलाइ दिनुहोस् ।’

नेपाली टोलीलाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खलेका पारसले सन् २००२ मा युएईमा भएको यू–१५ प्रतियोगिता खेलेका थिए । २००५ मा उनी यू–१९ टोलीको उपकप्तान भएका थिए ।

पारसले २२ वर्षको उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका थिए । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।

पारसले नेपालका लागि ६ एकदिवसीय खेल खेलेका छन् भने २७ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

उनी नेपाली क्रिकेट टोलीका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि हुन् । त्यस्तै उनले २ फस्र्ट क्लास, ४० लिस्ट ए र ५० टी–ट्वान्टी खेलेका छन् ।