नेकपाले उम्मेदवार टुंग्यायो

अगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुंगो लगाएको छ ।

नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उनले बताए ।

छनोट भएका उम्मेदवार नेकपा दोगडाकेदार–४ का प्रस्तावित वडा कमिटी अध्यक्ष हुन् । उनी यसअघि पूर्वएमाले रहेका थिए ।

बैठकले यही कात्तिक २० गते पीपलकोटमा चुनावी आमसभा आयोजना गर्नेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।