नेपालगञ्जको बीपीचोकनजिक रहेका आधा दर्जन पसलमा गएराति आगलागी हुँदा एक करोड बढीका धनमाल जलेर नष्ट भएको छ ।
जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ ।
आगजनी भएको स्थाननजिकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।
आगो कहाँबाट कसरी लाग्यो भन्नेबारे अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनानएको छ ।






