अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिबान प्रतिनिधिलाई आग्रह गरेको छ।
चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ (आईईए) को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो।
आईईएको नेतृत्व तालिबान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन्।
तालिवान समूहका प्रवक्ता जाविहुल्लाले ट्वीटरमार्फत लेखेका छन्, “अखुन्दको नेतृत्वमा तालिबान आईईएको प्रतिनिधिमण्डलले बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ। तालिवानसँगको यो भेट उनीहरूसँग यस पहिले मस्को र कतारमा भएका सम्मेलनको निरन्तरता हो।”
उनले भने, “बेइजिङमा हुने सम्मेलनमा पुग्ने सवै सहभागी व्यक्तिगत हैसियतमा रहनेछन् र उनीहरूले अफगानिस्तानको राजनीतिक समस्याको समाधानका लागि आफ्ना विचारलाई व्यक्तिगतरूपमा प्रस्तुत गर्नेछन्।”
केही महिनापहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्कासी अमेरिकी प्रतिनिधिमण्डल र अफगानी तालिवान समूहबीच भएको वार्ता रद्द भएको घोषणापछि तालिवान समूहले वार्तामार्फत् शान्ति प्रक्रियामा लान विभिन्न मुलुकहरूसँग पहल गरिरहेको छ।
तालिवान समूहले पनि वार्ता रद्द भएको अमेरिकी घोषणासँगै आफ्ना गतिविधिलाई सशक्त बनाएको छ। वार्ता रद्दभएसँगै देशका विभिन्न राज्यहरूमा भएका विष्फोटहरूमा परी अफगान सुरक्षाकर्मीसहित सयौँ नागरिकहरूले ज्यान गुमाएका छन्।




