ताजा समाचार

कार्तिक ७ गते २०७६

लाछाडोरी बनाउने तालिम सकियो

तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सांस्कृति संरक्षणका लागि ३ दिने लाछाडोरी बनाउने तालिम बिहीवार समपन्न भएको छ ।

पोखरा महानगरपालिका, वडा नं.९ वडा कार्यालयको सहयोगमा आयोजित तालिममा क्षेत्रीय तमु समाजका ३६ जना तमु आमाहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

वडाध्यक्ष लामिछानेले तमु धिं नेपाल केन्द्रीय आमा समितिद्वारा आयोजित तालिम अति नै प्रभावकारी तथा उपलब्धिमूलक हुने गरेकाले वडाका तर्फबाट वर्षेनी सक्दो सहयोग गरेको बताए । लाछाडोरी तालिमका लागि बजेट कम भए पनि आमाहरुलाई उद्यमशील बनाउन र सांस्कृतिक जगेर्नामा जागरुक बनाएको उनको भनाई थियो ।

वडाध्यक्ष लामिछानेले वडाले सहयोग निरन्तर गरिरहने प्रतिवद्धता जनाए । उनले पोखरा महानगरपालिकाका उपमेयर र मेयरसँग महिलालाई उद्यमशीलताका लागि बजेट भएकाले पहल गर्न तयार रहेको बताए ।

चिउली पार्चे तमु समाजकी विष्णु गुरुङ र कोल्मा बहाकोट तमु समाजकी कृष्णकुमारी गुरुङले तालिम अत्यन्तै उपलब्धिमूलक, प्रभावकारी भए पनि तालिम अवधि र बजेट कमिले चाहे जति सक्ने अवसर प्राप्त नभएको बताए ।

स्वस्तिक हस्तकला उद्योगकी संचालक सिता गुरुङले तालिममा सिकेका सिप उद्यमशिलतामा विकास गराउन आग्रह गरिन् ।

तमु धिं नेपाल केन्द्रीय आमा समितिकी कार्यवाहक अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रशिक्षक आशकासी गुरुङ, प्रशिक्षक बिना गुरुङ, द्धितीय उपाध्यक्ष पवित्रा गुरुङ, महासचिव एनशोभा गुरुङ लगायतले बोलेका थिए ।