मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाचौं मेरो नेपाल सेभेन ए साइड फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिता अन्तर्गत बिहीबार एकै दिन ८ खेल सम्पन्न भएको छ ।
बिहीबार क्वाटरफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा अयोजकको २ टिम बाहिरिएको छ ।
बिहीवारको पहिलो खेलमा शिव मार्गले आयोजक मेरो नेपाल क्लब बिलाई १–० गोलले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
यस्तै, आयोजक मेरो नेपाल निलोले सन्तोष एफसीलाई ५–१ को भारी गोल अन्तरले पाखा लगाउँदै अन्तिम ८ मा प्रवेश गरेको छ ।
आयोजक निलोका लागि सुनिल विक, गोविन थापा, विजय श्रेष्ठ, हेमन्त तामाङ र प्रज्वल गुरुङले गोल गरेका थिए भने सन्तोषका लागि प्रविन क्षेत्रीले सान्त्वना गोल गरे थिए ।
यस्तै, अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एम–१२ ले मनोहर बि फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको छ । खेल अवधिभर दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइवब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमै एम १२ विजयी भएको हो ।
यसैगरी संगम एफसीले चैट चैट चैट एफसीलाई ४–२ को फराकिलो गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको छ । संगमको जितमा टंक गुरुङले २ तथा बेल प्रसाद गुरुङ र समीर कार्कीले १–१ गोल गरे । चैट चैट चैटका लागि मिसन दर्लामी र जीवन थापाले गोल गरे ।
यस्तै, मिलन टोलले बौद्ध शान्ति सेतोलाई २–१ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । मिलन टोलका लागि लक्ष्मण गुरुङले दुवै गोल गरेका हुन् । बौद्धका लागि सुमित श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।
यस्तै, आरकेटीले एम-१४ लाई ३-० को गोल अन्तरले पाखा लगायो आरकेटिको जितमा नारन केसीले २ तथा अनिल गुरुङले एक गोल गरेका थिए ।
बिहिबारै भएको अन्तिम खेलमा योङस्टारलाई ३–१ गोलले पाखा लगाउँदै एलजी एशोसिन अघिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०/१० हजार प्रदान गरिनेछ ।
अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक योगेन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगितामा ११ लाख खर्च र २५ लाख बचत हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिवस कुँवरले बताए ।




