कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेसक्याम नजिकै हिउँमा पुरिएर सञ्जय खनालको मृत्यु भएपछि परिवारजन शोकमा डुवेका छन् । सञ्जय खनाल परिवारका १ मात्र छोरा थिए । उनका १ दिदी छन् । सञ्जय बल्ल १८ वर्षका थिए ।
उनी कक्षा १२ मा अध्ययनरत थिए । उनी काठमाडौंमा अध्ययनरत थिए । छुट्टी मनाउन घर फर्किएर सोमबार घरबाट बेस क्याम्पतर्फ घुम्न निस्किएका थिए ।
सञ्जयका उनका पिता युवराज खनालसहित परिवार अचेत अवस्थामा छन् । खनाल परिवारलाई सान्त्वना दिन पोखरा–५, पर्स्याङ, शिवालय मार्गस्थित घरमा ठूलो भीड लाडेको छ ।
सञ्जयको शव घटनास्थलबाट पोखरा ल्याइसकिएको छ । सञ्जयको पार्थिव शरीर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि घरमा ल्याइएको थियो । त्यसपश्चात् सेती नदीस्थित तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

सञ्जयसंगै घुम्न गएका पोखरा–११, फूलवारीका २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ कै १८ वर्षीय निरञ्जन कोइराला गम्भीर घाइते भएका छन् । उनीहरूको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर सञ्जयको मृत्यु भएको स्थानीय छोम्रोङ पर्यटन ब्यवसायी समितिका अध्यक्ष बुद्धि गुरुङ जानकारी दिए ।
‘हिउँदमा सँधै हिउँ थुप्रिने ठाउँ हो । त्यही हिउँ पग्लिएर सुरुङ बनेछ । सुरुङभित्र फोटो खिच्न लाग्दा माथिल्लो ढिस्को पनि झरेको देखियो,’ उनले भने, ‘१ जनाको मृत्यु भयो । अरुलाई उद्दार गरेर पोखरा पठाईएको छ ।’

घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो । मौसमको खरावीका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय पुगेका थिए ।
सञ्जयको शव भने बिहीबार बिहान मात्र हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो । उनको खोजी बुधबारै गरिएपछि प्रतिकुल मौसमका कारण सफल हुन सकेको थिएन ।






