एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।
पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । सुरुआती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा ताजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो ।
ताजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए ।
तर दोस्रो हाफ सुरू भएको ४ मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप ३ गोल गर्दा उनको स्थानमा अनिश श्रेष्ठ मैदान प्रवेश गरे ।
दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथि ४–० को अग्रता बनायो । त्यसपछि चौथो मिनेटमा २ गोल गर्यो ।
पहिलो हाफभन्दा दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसरसमेत सिर्जना गरेको थियो । तर पाएको अवसरलाई नेपालले सही सदुपयोग गर्न सकेन ।
पोस्ट म्याच कन्फरेन्समा बोल्दै सहप्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताएका छन् ।
‘हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको २ वर्ष मात्र भएको छ । पछिल्लो नतिजासँग यस नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मन्नुपर्छ’, बस्नेतले भने ।
यस्तै ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए ।
‘सुरुआती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो । तर पहिलो हाफको अन्त्यमा नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौं’, ताजिकिस्तानका प्रशिक्षक डेडोभिकले भने ।
सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ । यता खराब सुरुआत गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्वेकिस्तानसँग खेल्ने छ ।




