नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाबीच मंसीरमा हुने उपनिर्वाचनका लागि चुनावी तालमेल भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेलमा सहमति भएको हो ।
जनमोर्चा अध्यक्ष केसीले बागलुङ-२ ख को प्रदेशसभा सदस्यको उम्मेदवार जनमोर्चाले पाउने र अन्य क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा नेकपाले आफूहरुलाई सघाउने र बाँकी सबै ठाउँमा नेकपालाई सघाउने केसीले बताए ।






