कास्की–२ को उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीको कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार तय गरेको हो ।
पार्टीको जिल्ला र क्षेत्रीय समितिको सिफारिस अनुसार पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
“केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागिपरेकी अभियान कर्ता हुन्,” आचार्यले भनेका छन्, “उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घसंस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।”
पार्टीले उपनिर्वाचन हुने प्रदेशसभा र स्थानीय तहमा पनि क्रमशः उमेदवार तय गर्ने बताइएको छ । “राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न अब साझा पार्टी मात्र भरपर्दो विकल्प हो,” आचार्यले भनेका छन्, “हामी तपाईंको सहयात्री हुँदै पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध छौं ।”






