नेपाली राष्ट्रिय फुटसल टोलीले एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज (बुधबार) ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः१५ मा सुरु हुनेछ ।
इरानको उर्मियामा हुने खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्ने योजनामा छ ।
नेपाल ताजिकिस्तान भन्दा कमजोर टोली हो । मंगलबार प्रि–म्याच कन्फ्रेन्समा बोल्दै नेपालका प्रशिक्षक विष्णु गुरुङले टोलीको तयारी राम्रो भएकाले मैदानमा उत्रिन तयार भएको बताएका छन् ।
“छोटो समय भए पनि हाम्रो तयारी राम्रै भएको छ । टिम राम्रो बनेको छ । हामी मैदानमा उत्रिन तयार छौं,” प्रशिक्षक गुरुङले भने ।
नेपाली टोली पहिलो जस्तो नभएको समेत बताएका छन् । उनले आफ्नो टोलीमा धेरै परिवर्तन भएकाले प्रतिद्वन्द्वी टोलीलाई सचेत रहन समेत आग्रह गरेका छन् ।
“अहिले हाम्रो टोलीमा धेरै खेलाडी परिवर्तन भएका छन् । टोलीमा युवा तथा नेपाली फुटबलमा लामो समयको अनुभव बटुलेका खेलाडी छन् । जसले गर्दा टोलीको बन्डिङ राम्रो बनेको छ,” प्रशिक्षक गुरुङले भने ।
यता ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिनादेखिको प्रशिक्षणले टिम राम्रो बनेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रिपूर्ण खेलले टोली झनै बलियो बनेको उनले बताए ।
नेपाली टोलीका कप्तान विजय गुरुङले प्रतियोगिता खेलाइने खैदानमा खुट्टा चिप्लिने समस्याले खेल्ने गाह्रो हुने बताए ।
“मैदानले गर्दा खेल्न केही समस्या हुन सक्छ । तर हामी हाम्रो शतप्रतिशत दिनेछौ । हाम्रो प्रमुख लक्ष्य विपक्षीलाई रोक्ने हो । उनीहरुले हामीमा माथि हेर्ने नजर बदल्नु छ र हामी पनि उनीहरु भन्दा कम छैनौ भन्ने प्रमाणित गर्नु छ,” गुरुङले भने ।
सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले ताजिकिस्तानसँग आफ्नो पहिलो खेल खेल्न लागेको हो ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।




