पशुपति आर्यघाटका कामदार आन्दोलिनत

पशुपति आर्यघाटका कामदारहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी समेत दिएका छन्।

घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार)देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्नेलगायत दाहसंस्कारका सबै काम बन्द गर्ने चेतावनी दिएका हुन्।

तर पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले अहिले बिहान ११ बजेका लागि वार्तामा बोलाएकाले त्यस बेलासम्मका लागि आन्दोलन स्थगित गरिएको तर वार्ता सफल भएन भने आन्दोलनमा उत्रिने घाटका कामदार विदुर बुढाथोकीले बताएका छन् ।

कामदारले हाल एउटा शव जलाएबापत रु १ हजार ८० रुपैयाँ पाउने गरेकोमा यसलाई बढाएर २ हजार पुर्‍याउनुपर्ने,कोषले दिने उपदान रकमसमेत वृद्धि गर्नुपर्ने ,स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने,जस्ता माग कामदारले पशुपति क्षेत्र विकास कोषसँग राखेका छन्।