नेविसंघमा फेरि लफडा, कार्यकर्ता निराश

नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि विवाद देखिएको छ । यसले कार्यकर्तामा निकै निराशा छाएको छ ।

नेपाल विद्यार्थी संघभित्र ३२ वर्षमुनीबाट नेतृत्व चयन गर्ने कि ३२ वर्षमाथिबाट भन्नेमा विवाद कायमै रहेको बेला काँग्रेस शीर्ष नेतृत्वले भने ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले चर्को विरोध गरेको छ । 

नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको भन्दै नेतृत्व तहमा भएको विधान विपरितको सहमतिको विरोध गरे । 

उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए । 

यसैगरी नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पनि आफू ३२ वर्षमुनीबाटै नेतृत्व चयन गरिनुपर्छ भन्ने पक्षमा रहेको बताए । ३२ वर्षमुनीबाट नेतृत्व चयनको माग गर्दै काफ्ले समूहका केही नेविसंघका केही नेताहरुले बुधबारनै राजधानीमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । 

माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।

यही नेतृत्वविहीनताको अवस्थालाई पूर्ति गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले  ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउने तयारी गरेका छन् । जसमा शीर्ष नेताहरुले समेत सहमति जनाइसकेका छन् । 

नेताहरुकाअनुसार अनुसार सभापति देउवाले अध्यक्षमा संघका पूर्वउपाध्यक्ष राजीव ढुंगानाको नाम सारेका छन् । 

उपनिर्वाचनको तयारीका लागि कार्तिक ७ गतेलाई डाकिएको केन्द्रीय समिति बैठकबाट नेविसंघको नेतृत्वको विषयमा पनि निर्णय लिने तयारीमा काँग्रेस रहेको छ ।