निवर्तमान सभामुख कृष्णबहादुर महराले पुरानो चश्मा देखाएर आफूलाई फँसाइएको दावी गरेका छन् । उनले आइतबार प्रहरीलाई दिएको बयानमा आफू रोशनीको घर नजिकसम्म मात्र पुगेको तर घरभित्र भने नगएको जिकिर गरेका छन् ।
महराले असोज १२ गते उनको घरमै नगएको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार महराले रोशनीको घर नजिक पुगेर फोन गर्दा उनको फोन नउठेपछि आफू त्यहीबाट फर्किएको बयान दिएका छन् ।
रोशनीलाई भेट्न किन जान लाग्नु भएको थियो ? भन्ने प्रहरीको प्रश्नमा महराले भनेका छन्, ‘आफूहरूबीच दिउँसोदेखि झगडा परेको, त्यसैले भेट्न जान लागेको थिए ।’
रोशनीको घरमा भेटिएको भाँचिएको चस्माको खुट्टा तपाईंको हो ? भन्ने प्रहरीको प्रश्नमा उनले भने, ‘मेरो चस्मा लगाएकै छु, त्यो चस्मा मेरो हैन ।’
शाहीको घरबाट असोज १४ प्रहरीले उनले लगेको रक्सीको बोतल, शाहीसँगको घम्साघम्सीमा महराको भाँचिएको भनिएको चस्माको खुट्टा, जुत्ताको तलुवा लगायतका प्रमाण संकलन गरेर लगेको थियो ।
असोज २१ गते पक्राउ परेका महरा २३ गतेदेखि बिरामी भएपछि नर्भिक अस्पतालमा बसिरहेका छन् ।






