नेकपाका आशलाग्दा नेता एवं पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीको क्षेत्र हो कास्की–२ । यहाँ पनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ ।
यो क्षेत्र प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने १ मात्र क्षेत्र हो । त्यसैले पनि कास्की–२ निकै चर्चामा छ । देशभरको ध्यान पनि यही क्षेत्रमा छ ।
कहिले नेकपाका नेता वामदेव गौतम त कहिले कांग्रेसका नेता धनराज गुरुङ उम्मेदवार बन्ने हल्लाले करिब ५ महिना अघिदेखि नै कास्की २ चर्चामा थियो ।
यतिबेला पनि यो क्षेत्र निकै गरमागरम चर्चामा छ । विशेषगरि नेपाली कांग्रेसका आकांक्षीका कारण यो क्षेत्रले चर्चा पायो ।
यो संगै कांग्रेसले आलोचना पनि खेप्नुपर्यो । कांग्रेसले यो क्षेत्रमा चुनावी अभियानसमेत शुरु गरिसकेको छ । कांग्रेसले २ महिना अघि नै जिल्लाको उच्च तहमा रहेका नेताहरू प्रतिनिधिको रुपमा खटाएर चुनावी अभियान थालिसकेको थियो ।
नेकपाले भने अहिलेसम्म आन्तरिक छलफल र भेटघाटबाहेक कन्य केही गतिविधि सञ्चालन गरेको छैन । तर कांग्रेसले उम्मेदवारसमेत सिफारिस गरिसकेको छ ।
कास्की कांग्रेसले देवराज चालिसे र चालिसेसहित १६ जना आकांक्षीकै नाम केन्द्रमा सिफारिस गरेको छ ।
चुनाव लड्न चाहना गर्नेको संख्या धेरै भएपछि कांग्रेस क्षेत्रीय कार्यसमितिलाई निकै सकस परेको थियो । १६ जना आकांक्षीमध्ये ११ जनाले हस्ताक्षर नै गरेर सबै आकांक्षीलाई केन्द्रमै पठाउन दवाव दिएका थिए ।
जे भए पनि केन्द्रको निर्णय स्वीकार गर्ने भन्दै उनीहरुले चुनावी प्रक्रियाबाट उम्मेदवार सिफारिस गरे राम्रो नहुने चेतावनी समेत दिएका थिए ।
यसैगरी क्षेत्रीय समितिका ३९ जना सदस्यमध्ये ३० जनाले हस्ताक्षर नै गरेर नेता देवराज चालिसेलाई १ मात्र उम्मेदवारको रुपमा सिफारिस गर्न दवाव दिएका थिए ।
यो दुवै दवावमा परेको क्षेत्रीय समितिको नेतृत्वले सर्वसम्मत बनाउन धेरै पटक छलफल गर्यो तर सहमति जुट्न सकेन । सहमति नजुटेपछि क्षेत्रीय समितिले जिल्ला समितिलाई देवराज चालिसे र आकांक्षी सबैको नामसहित २ वटा सिफारिस पठायो ।
क्षेत्रीय समितिले पठाएको सिफारिसमा जिल्ला समितिले सुझाव दिन बाहेक केही गर्न नमिल्ने भएकाले जिल्ला समितिले पनि दुवै सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।
योसंगै कास्कीमा चुनावी सरगर्मी बढेको छ । क्षेत्रीय समितिका सदस्यहरुको चाहना हेर्ने हो भने नेता देवराज चालिसे उम्मेदवार बन्ने सम्भावना बढी देखिन्छ ।
अब कसलाई उम्मेदवार बनाउने भन्ने विषय पार्टीको केन्द्रीय समिति र पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ ।
नेता चालिसे अघिल्लो चुनावमा उम्मेदवार बनेर पनि पराजित भएका थिए । उनी पार्टीमा निकै चर्चित अनुहार पनि हुन् ।
उनले आफूले जनताको सेवा गर्न ५ वर्षको समय छुट्याएको भन्दै जनताको सेवा गरिरहेको बताउँदै आइरहेका छन् ।
उनी भन्छन्, ‘मैले ५ वर्ष जनताको सेवा गर्छु भनेर कशम खाएको छु । चुनावमा जित, हार भन्दा जनताको सेवा ठूलो हो । त्यसैले मैले हरपल जनताको सेवा गरिरहेको छु ।’
उनी लामो समय प्राध्यापन पेशामा संलग्न थिए । अघिल्लो पटक चुनाव लड्नकै लागि उनले प्राध्यापन पेशा छाडेर खुला राजनीतिमा होमिएका थिए ।
उनी पार्टी भित्र तथा बाहिर निकै वौद्धिक व्यक्तित्व मानिन्छन् । उनी महासमिति सदस्यका साथै पार्टी केन्द्रीय नीति निर्माण तहमा समेत पुगिसकेका नेता हुन् ।
देवराज चालिसेलाई उम्मेदवार बनाउन सहमति जनाउनेहरू









