ताजा समाचार

कार्तिक ५ गते २०७६

१ फलफूलको बोट : रु १० को नोट

चितवनको १ मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा १० रुपैयाँ दिने भएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा रु १० दिने भएको हो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न ‘१ फलफूलको बोट रु १० को नोट’ कार्यक्रम ल्याइएको बताइन् ।

अध्यक्ष गुरुङले भनिन्, ‘इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न १ फलफूलको बोट रु १० को नोट कार्यक्रम ल्याएका छौं ।’

गाउँपालिकाले व्यावसायिक फलफूल खेती गर्नेका लागि २ सयदेखि ५ सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रतिबिरुवा रु १० प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।

गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई रु १ लाख, ३ दुहुना भैँसी पाल्ने किसानलाई रु १ लाख, व्यावसायिक बाख्रापालक किसानलाई रु ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ३ दुहुना भैँसी पाल्ने ८ जनालाई जनही रु १ लाख, व्यवसायिक तरकारी खेती गर्ने ८ जनालाई जनही रु १ लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बंगुरपालक २ जना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले किसानका लागि वडा नं–४ कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताए । साथै वडा नं ३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिए ।

चितवनको दुर्गम भेगमा रहेको यस इच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।