थमन स्मृति खेल मैदान निर्माण, कस्ता थिए थमन ?

पोखरा महानगरपालिका–२८, माझठानास्थित ढुङ्गेथानमा ‘शहीद थमन परियार स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थानमा महानगरपालिका र स्थानीय जनसहभागितासहित रु ६ लाख ५० हजारको लागतमा शहीद थमन परियारको स्मृतिमा खेलमैदान बनाइएको हो ।

महानगरको सामाजिक विकास शाखाको रु ३ लाख, वडा नं २८ को रु २ लाख र रु १ लाख ५० हजार बराबरको स्थानीय जनसहभागितामा खेलमैदानको निर्माण सम्पन्न गरिएको माझठाना ढुङ्गेथान खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मनमोहन अधिकारीले जानकारी दिए ।

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका क्रममा विसं २०६३ कात्तिक ६ गते शहादत प्राप्त गरेका शहीद थमन परियारको जन्मस्थानस्थित लगभग ५ रोपनी सार्वजनिक जग्गामा खेलमैदान निर्माण गरिएको हो ।

खेलकूदका माध्यमबाट शहीदलाई स्मरण गर्ने लक्ष्यका साथ निर्मित उक्त मैदानमा प्यारापिट सहित तारजालीले बार्दै अन्य आवश्यक भौतिक संरचना निर्माण गरिने उनले बताए । बाँकी कामका लागि सम्बन्धित निकायमा आवश्यक रकमको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

प्राचीनकालदेखि कास्कीमा प्रचलित बैदामको बारी, आर्वाको घारी र माझठानाको टारी भन्ने उक्तिका कारण ख्याती कमाएको माझठानामा निर्मित खेलमैदानलाई यस क्षेत्रमा खेलकूदको विकासका लागि अत्यन्त महत्वका साथ हेरिएको छ ।

नवनिर्मित खेलमैदानमा नजिकिँदै गरेको दीपावलीका अवसरमा यही कात्तिक ६ देखि ८ गतेसम्म अन्तर वडास्तरीय भलिबल प्रतियोगिता गरिने भएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिए ।

खेल मैदानलाई खेलकूदमा मात्र सीमित नराखी बहुपयोगी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले उक्त स्थानमा बहुउद्देश्यीय भवन निर्माण गरी स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग पुर्याउने उद्देश्यका साथ प्रत्येक वर्ष कृषि प्रदर्शनीको आयोजना गरिने बताए ।

यस्ता थिए शहीद थमन
विसं २००३ मा माझठानामा जन्मिएका शहीद थमन परियार राजनीतिज्ञ, विचारक, लेखक, कलाकार, पत्रकार, संगीतकारका रूपमा समेत परिचित थिए ।

परियारको स्मृतिमा निर्मित खेलकूद मैदानका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

पृथ्वी राजमार्गको विजयपुरबाट कालीका, सुर्केमैदान, ओखले, सौरे हुँदै सो खेलकूद मैदान पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ । उक्त स्थानसम्म पुग्न महानगरपालिकाको सक्रियतामा सडक स्तरोन्नति गरिएको छ ।