आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु। दश रुपैयाँ दिने चितवनको ईच्छाकामना गाउँपालिकाले निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु। दशको नोट” कार्यक्रम ल्याइएको बताएकी छिन् ।
गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ ।गाउँपालिकाले आर्थिक वर्ष २०७५ / ७६ मा तीन दुहुना भैंसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बङ्गुरपालक दुईजना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।चितवनको दुर्गम भेगमा रहेको यस ईच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।






