‘प्रचण्ड प्रधानमन्त्रीमा आलोपालो भएन भनेर रुँदै हिँडेका छन्’

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुष्पकमल दाहाल प्रचण्डबारे तिखो टिप्पणी गरेको छ । उसले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेलकहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको सार्वजनिक भएको थियो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका भइरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरु सामू बिन्तीभाउ बिसाउन थालको बताएको हो ।

प्रचण्डका राजनीतिक गुरु मानिने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले कात्तिक २ र ३ गते बसेको केन्द्रीय समितिको बैठकले उपचुनावमा भाग नलिने लगायतका निर्णयसमेत गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले सामाजिक सञ्जालबारे ओली र प्रचण्डले गरेको टिप्पणीको पनि आलोचना गरे ।

‘प्रचण्ड फेसबुक हेर्न नसकिने भयो भन्नुहुन्छ । प्रधानमन्त्री ओली पत्रकारले बाआमालाई पनि तपाईं भन्दैनन् भनेर टिप्पणी गर्ने अवस्थामा पुगिसक्नुभयो । यो उहाँहरुले गरेको कार्यकै उपज हो । नेतृत्वले जे गर्छ त्यही सामाजिक सञ्जालमा पोखिन्छ’, नेता गजुरेलले भने ।