नेपाली कांग्रेसका नेता देवराज चालिसे प्रखर वक्ता हुन् । लामो समय प्राध्यापन पेशामा संलग्न भएकाले पनि उनी जे कुरा पनि हाकाहाकी नै गर्छन् । पार्टी भित्रको विषय होस् या बाहिरको जे कुरा पनि प्रष्टै राखिदिन्छन् ।
अघिल्लो चुनावमा पूर्वमन्त्री रवीन्द्र अधिकारीसंग पराजित भएका नेता चालिसे आशन्न उपनिर्वाचनको प्रवल दावेदार हुन् ।
उनले सोमबार पार्टी, पार्टी नीति र कार्यकर्ताका लागि गम्भीर विषय उठान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ता विषय उठान गरिदिएका हुन् ।
पार्टीको नीति निर्माण तहमै रहेका चालिसेले नेता आशन्न निर्वाचनलाई नै केन्द्रित गरी उक्त विषय उठान गरेको प्रष्टै हुन्छ ।
नेता चालिसेकोले स्टाटसमा लेखेका छन्, ‘प्रजातन्त्रवादीका लागि कानूनी शासनको महत्व जस्तै प्रजातान्त्रिक पार्टीका लागि आफ्नो पार्टीको विधानको सर्वोच्चतालाई सबैले स्वीकार गरेका हुन्छन् । पार्टी जीवनसंग जोडिएका सबै विषय विधान अधिनस्थ र निर्देशित हुन्छन् र हुनु पनि पर्दछ ।’
उनले स्टाटसको यो लाइनमा आशन्न निर्वाचनमा कांग्रेसबाट आकांक्षीको संख्या धेरै भएपछि पार्टीको आधिकारिक उम्मेदवारलाई सबैले स्वीकार गर्नुपर्ने आशय व्यक्त गरेका हुन् ।
उनले स्टाटसमा थप गम्भीर कुरा लेखेका छन्, ‘संगठन निर्माण र संचालनको आफ्नै विधि हुन्छ । सदस्यले मत व्यक्त गर्ने कुरा होस् वा पार्टीले निर्णय लिने तरिका होस व्यवस्थित गरिएको हुन्छ । पार्टी सदस्यका लागि पार्टी विधान भन्दा बाहिरको राजनीतिक यात्रा र विचारको कुनै गन्तव्य हुँदैन, आयू हुँदैन ।’
नेता चालिसेले स्टाटसको यो लाइनमार्फत पार्टीका नेता कार्यकर्ता विधि विधान र पार्टीको नीति निर्देशनमा चल्नुपर्ने स्पष्ट पारेका छन् ।
उनले पार्टीको विधान, नीति निर्देशन भन्दा बाहिर जाने जो कोही पनि गन्तव्य नहुने भन्दै आशन्न निर्वाचनमा घात गर्न सक्नेतर्फ सचेत गराएका छन् ।
उनको स्टाटस अझै छ, ‘नियमले पद र पाखुरा चिन्दैन । उसका लागि सबै समान हुन्छन् । त्यसैले पार्टीसंग जोडिएका विषयमा मत सार्वजानिक गर्नु पूर्व आत्म अनुशासन कायम राखौं ।’
उनले यो स्टाटसमार्फत पार्टीभित्र पद र पाखुरा ठूलो भन्दा अनुशासन महत्वपूर्ण विषय भएको स्पष्ट पारेका छन् ।







